भरतपुर भ्रमण वर्ष २०२४ आज उद्घाटन हुदै, पूर्वप्रधानमन्त्रीसमेतले सम्बोधन् गर्ने

भरतपुर भ्रमण वर्ष २०२४ आज उद्घाटन हुदै, पूर्वप्रधानमन्त्रीसमेतले सम्बोधन् गर्ने

काठमाडौं एक्सप्रेस

चितवन, – चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।

नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।

सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वाभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन आइसकेका छन् ।

सबैभन्दा पहिले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल चितवन आएका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।

यस्तैं, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो पौने १ बजे हेलिकोप्टरमा चितवन आउने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

ओली सोही हेलिकोप्टरमा मकवानपुरमा हुने अर्को एक कार्यक्रममा पनि सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको न्यौपानेले जानकारी दिए ।

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् ।

रास्वपाका एक नेता राजेन्द्र अर्यालले दिएको जानकारी अनुसार उनी दिउँसो १२.३० बजेको उडानबाट भरतपुर आउने कार्यक्रम तय भएको हो ।

कार्यक्रममा अर्को पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यस्तताले आउन नसकेको महानगरपालिकाले जनाएको छ ।

उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार पूर्वप्रधानमन्त्री, रास्वपाका सभापतिलाई १०÷१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।

समारोहमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भए पनि बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि कार्यक्रममा शुभकामना दिनेछन् ।

बिहान ११ बजेदेखि १२.३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।

उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

Logo