प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाइसकेका छन् भने सहयात्री दलसँग छलफल सुरु गरेका छन्।

नेपाली कांग्रेसले गठबन्धन टुटेसँगै विपक्षीहरूको मोर्चा बनाउने प्रयास गरेको र विश्वासको मत आर्जन विफल तुल्याउने प्रयास गरिरहेको बेला प्रधानमन्त्रीले आफ्ना सांसदलाई संसद्मा विश्वासको मत लिने दिन अनिवार्य संसद्मा उपस्थित हुन ह्विप लगाएका छन्।

प्रधानमन्त्री दाहालले सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन ३० गते विश्वासको मत लिने तयारी भएको छ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले आज सहयात्री दलहरूसँग छलफल गर्दै छन्। त्यही छलफलबाट विश्वासको मत लिने मिति तय गर्ने कुरा छ। छिटो भन्दा छिटो विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल छन्।

फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदै छ। त्यसको भोलिपल्ट प्रधानमन्त्रीले सांसदबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो। कांग्रेसले नयाँ गठबन्धन बनेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले चैत २३ गते भित्र प्रधानमन्त्रीले विश्वास लिइसक्नुपर्नेछ। कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। तर प्रधानमन्त्री दाहालले चैत २३ नकुरी फागुन ३० मै विश्वासको मत लिन लागेका हुन्।

२०७९ पुस १० गते यता प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि दाहालले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिनेछन्। यसअघि गत वर्षको २०७९ पुस २६ मा पहिलो पटक र २०७९ चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। पुस २६ मा एमाले, कांग्रेसले विश्वासको मत दिएका थिए। २०७९ चैत ६ मा विश्वासको मत लिँदा एमालेबाट विश्वास गुमाइसकेका थिए। अहिले फेरी कांग्रेसको विश्वास गुमाइसकेको र एमालेकै समर्थनमा प्रधानमन्त्रीले विश्वासको मत लिइरहेका छन्।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको सो धारामा उल्लेख गरिएको छ। अहिले एमालेसहित, रास्वपा, नेकपा एस, जसपाको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका छन्। विपक्षी कांग्रेससँगै राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, आमजनता पार्टी रहेका छन् । कांग्रेसले उनीहरूलाई समेटेर विपक्षीहरूको मोर्चा बनाउने प्रयासमा लागेको छ।

Logo