प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरु मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छ : ओली

प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरु मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छ : ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदन मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उनले जिकिर गरेका हुन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समिकरण बनाउनुको कारणबारे दिएको स्पष्टिकरण चित्तबुझ्दो भएको पनि बताए।

ओलीले भने, ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रश्ताव वक्तव्य मैले राम्ररी सुनेँ। उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुप¥यो भन्ने कारण। र अब उहाँ के चाहनु हुन्छ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो? भन्ने कुरा। सबै कुराहरु सविस्तार बताउनु भयो। र कुराहरु, कारणहरु चित्तबुझ्दो छ। म समर्थनबाटै शुरु गर्छु। यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ।’

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए।

Logo