महालक्ष्मी ७ मा स्वास्थ्य चौकी शिलान्यास

महालक्ष्मी ७ मा स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर ७ स्थित चाङ्गाथलीमा स्वास्थ्य चौकी शिलान्यास भएको छ ।

शनिबार बिहान चाङ्गाथलीस्थित पञ्चकन्या मन्दिर परिसरमा भएको कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्तरुपमा स्वास्थ्य चौकी शिलान्यास गरेका हुन् ।

अण्डर ग्राउण्ड पार्किङ सहिको तीन तले स्वास्थ्य चौकीको आगामी वर्ष पूरा हुने वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए । “आगामी असारसम्म भवनको कन्स्ट्रक्सनको काम पूरा हुन्छ,” उनले भने, “आगामी वर्षको बजेटमा भवन तथा उपकरणको व्यवस्थापन गरेपछि औपचारिकरुपमा सञ्चालन हुन्छ ।”

वडाध्यक्ष महर्जनका अनुसार करिव ६० लाख लागतमा भवन निर्माणको पहिलो चरणको काम पूरा हुनेछ ।

स्वास्थ्य चौकी शिलान्यासपछि आफ्नो धारणा राख्दै नगर प्रमुख श्रेष्ठले स्वास्थ्य र शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा विकास गर्दै काम गरिरहेको जानकारी दिए ।

उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले बीच बीचमा अनुगमन गर्ने भएकाले गुणस्तरमा सम्झौता नगर्ने बताइन् ।

वडा नम्बर १ का वडाध्यक्ष छिरिङ लामाले नगरपालिकाले स्वास्थ्य चौकीकोरुपमा पहिलोपटक नयाँ भवन निर्माण गरेको बताउँदै समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

Logo