शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित

शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकले जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनता समाजवादी पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Logo