सभामुख घिमिरेको नेतृत्वमा दश सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

सभामुख घिमिरेको नेतृत्वमा दश सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौं एक्सप्रेस

काठमाडौँ, ८ चैत : सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

यही चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल आज कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

उक्त महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र उपसचिव प्रदीप गुरागाईं समेत सहभागी हुनुभएको छ ।

सभमुख घिमिरेले “संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण” विषयमा सङ्घीय संसद्कोतर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्नुहुने जनाइएको छ । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Logo