सुहाङ नेम्बाङ बने इलाम –२ का उम्मेदवार

सुहाङ नेम्बाङ बने इलाम –२ का उम्मेदवार

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इलाम क्षेत्र–२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले )ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने भएको छ।

आज (आइतबार) को केन्द्रीय सचिवालयको ३० औं बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। इलामस्थित एमालेले चैत ५ मा सुहाङसहित छ जनाको नाम केन्द्रमा उम्मेदवारका लागि सिफारिस गरेको थियो।

जिल्लामा उम्मेदवार बन्न छ जनाले इच्छा देखाएपछि सहमति हुन नसक्दा सुहाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, बुद्धिप्रसाद खनाल, नरेन्द्रनाथ भट्टराई र रिप्पल राईको नाम एमालेले केन्द्रमा पठाएको थियो।

सुहाङ संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन्। गत भदौ २६ मा हृदयघातका कारण सुवासको निधन भएको थियो।

नेपाली कांग्रेसले यो क्षेत्रमा सात जनाको नाम सिफारिस गरिसकेको छ। कांग्रेसबाट भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेश समितिमा सिफारिस गरी पठाएको छ। अन्य दल उम्मेदवार सिफारिसका लागि छलफल र प्रक्रियामा छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र प्रेमदीप लिम्बूले उम्मेदवारी घोषणा गरिसकेका छन्।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा सुवासले एक सय १४ मतान्तरले गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए। नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। पार्टीका जिल्ला सभापति खड्का अहिले पनि जिल्लाबाट उम्मेदवारको सिफारिसमा छन्।

यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

Logo