प्रमाणसहित उजुरी दर्ता भएमा गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन्छौ : ज्ञवाली

प्रमाणसहित उजुरी दर्ता भएमा गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन्छौ : ज्ञवाली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताएका छन्।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि जिकिर गरे। उनले विना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताए।

नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाए।

उनले आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही पनि हुन नसक्ने जिकिर समेत गरे।

उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क समेत गरे।

Logo