रास्वपाका उम्मेदवार मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलासा, प्रेस सेन्टरले ग-यो बर्खास्त

रास्वपाका उम्मेदवार मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलासा, प्रेस सेन्टरले ग-यो बर्खास्त

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

प्रेस सेन्टरले हिजो एक विज्ञप्ति जारी गरी उनलाई संगठनको जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । सेन्टरका महासचिव सन्तोष पौडलद्वारा जारी विज्ञप्तिमा लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा अभिव्यक्ति दिएको तथा अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख छ ।

‘पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपालाई मिलनले आफू माओवादीबाट अलग भइसकेको बताएका थिए । यद्यपि, उनले प्रेस सेन्टरमा राजीनामा नबुझाएको महासचिव पौडेलले नेपाल प्रेससँग बताए । ‘उहाँले राजीनामा दिनुभएको छैन,’ पौडेलले भने, ‘सामाजिक सञ्जालमा लेखेको कुरालाई हामी मान्यता दिँदैनौं ।’

लिम्बू माओवादीबाट इलाम २ मा चुनाव लड्न चाहन्थे । तर, टिकट पाउने परिस्थिति नदेखेपछि उनले ‘पहिचानवादी’ समूहबाट साझा उम्मेदवार बन्ने प्रयासमा लागे । त्यसमा पनि सफल भएनन् । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरे । उनले आफूलाई ‘अकबरे उम्मेदवार’ भन्दै चुनाव चिन्हको रुपमा ‘डल्ले खुर्सानी’ को प्रचार गरिरहेका थिए ।

Logo