नेपालका वन प्राविधिकहरूलाई लाग्यो चुनाव

नेपालका वन प्राविधिकहरूलाई लाग्यो चुनाव

काठमाडौं एक्सप्रेस

नेपालका वन प्राविधिकहरूलाई चुनाव लागेको छ । वन प्राविधिकहरूको साझा संस्था नेपाल वन प्राविधिक संघको नयाँ नेतृत्वका लागि चुनावी सहगर्मी बढेको छ । चैत २४ गते हुने निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको हो ।

पेशागत संस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिएपनि राजनीतिक आस्थाको आधारमा प्यानल नै गठन गरेर चुनावी मैदानमा होमिएपछि वन प्राविधिकहरू विभाजित भएका छन् ।

पेशागत हकहितमा क्रियाशिल हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा यो अधिवेशनमा पनि प्यानल नै निर्माण गरेर पेशाकर्मीहरु चुनावी मैदानमा होमिएका हुन् । संघमा राजनीति धेरै हाबी भएको भन्दै सर्वसम्मतको प्रयास विफल भएपछि तीन ठूला दलहरूले प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

कांग्रेस, एमाले र माओवादी निकट वन प्राविधिकहरूले प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।

अध्यक्षमा कांग्रेसबाट राकेश कर्ण, एमालेबाट विजयराज पौड्याल र माओवादीबाट यज्ञनाथ दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, गौरीशंकर तिमलाले पनि अध्यक्षमा उम्मेदवरी दिएका छन् । तिमला कांग्रेस निकट मानिएपनि स्वतन्‍त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

उपाध्यक्षमा ३ जनाको भिडन्त हुने देखिएको छ । उपाध्यक्षहरुमा वर्तमान सह-कोषाध्यक्ष अम्बिकाप्रसाद खतिवडा, सुजित कुमार झा र अमरदेव प्रसाद यादवले उम्मेदवारी दिएका छन् ।

महासचिवमा ५ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ सुनिता उलक र मन्जु घिमिरे चुनावी मैदानमा छन् । खुलातर्फ गोविन्दप्रसाद दाहाल, अजय विक्रम मानन्धर र विष्णुप्रसाद ज्ञवालीले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

साचिवमा ७ जनाको उम्मेद्वारी परेको छ । महिलातर्फ सिर्जना श्रेष्ठ, अनुपा घिमिरे र करुणा कार्कीले उम्मेदवारी दिएका छन् । खुलातर्फबाट सचिवमा अच्युतप्रसाद उपाध्याय, सुदीप छत्कुली, शैलेन्द्र चौधरी र राजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा सुजिताकुमारी राउत, लक्षमण प्रसाद पौडेल र सुदीप सिंखडाको उम्मेदवारी परेको छ ।

३ महिला र ४ जना खुलातर्फ गरी ७ जना सदस्यका लागि २४ जनाको उम्मेदवारी परेको छ ।

प्यानल नै निर्माण गरेर उम्मेदावरी घोषणा गरिएपनि नयाँ र युवा पुस्ताले हाम्रलाई भन्दा राम्रालाई मत दिनुपर्ने तर्क अगाडि सारेका छन् । कतिपय वन प्राविधिकहरूले प्यानल गठन गरेर चुनावी मैदानमा उत्रदा पेशाकर्मीहरू प्रति नकरात्मक सन्देश जाने भन्दै आइरहेका छन् ।

Logo