बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको पहिलो निर्णय- आत्महत्या न्यूनीकरणमा केन्द्रित

बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको पहिलो निर्णय- आत्महत्या न्यूनीकरणमा केन्द्रित

काठमाडौं एक्सप्रेस

हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन् ।

हेटौंडास्थित स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सचिव बद्रिबहादुर खड्काले जानकारी दिए । साथै उनले स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ्ग र निदान एवं मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्ने निर्णय गरेका छन् ।

मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रायका लागि पठाउने निर्णय गरेका छन् ।

सोमबार नै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयमा उनलाई सचिव खड्कासहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारी लगायतले स्वागत गरेका थिए ।

श्रेष्ठ दोस्रो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका हुन् ।

पहिलो कार्यकालमा तत्कालिन गठबन्धन भत्किएसँगै उनले करिव २ महिनाको कार्यकाल बिट मारेका थिए ।

२ महिनामा नै मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण लगायतका दर्जनौं काम गरेका थिए ।

स्वास्थ्य तथा औषधिका क्षेत्रमा लामो समय काम गरेका मन्त्री श्रेष्ठ विषय विज्ञ मन्त्रीका रुपमा चिनिन्छन् ।

Logo