विश्वासको मतको सामना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्रीलाई

विश्वासको मतको सामना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्रीलाई

काठमाडौं एक्सप्रेस

धनगढी, – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले परस्थिति विश्लेषण गरी विश्वासको मतको सामना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्रीलाई नै दिएको छ ।

संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले निर्णय लिने अधिकार उनैलाई दिएको हो ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य मेघराज खड्काले परस्थितिअनुसार विश्वासको मत फेस गर्ने वा राजीनामा दिने अधिकार मुख्यमन्त्रीलाई दिइएको बताए । संसदीय दलको बैठकले अन्य निर्णय भने गरेको छैन ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कमजोर बन्दै गएको छ ।

अन्तिम समयसम्म विश्वासको मत जुटाउन प्रयास गर्ने र सम्भव नभए प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्रीको तयारी छ ।

Logo