विश्वास मत लिनु अगाडि मुख्यमन्त्री महरालाई सहमति कार्यान्वयन गर्न दबाब

विश्वास मत लिनु अगाडि मुख्यमन्त्री महरालाई सहमति कार्यान्वयन गर्न दबाब

काठमाडौं एक्सप्रेस

काठमाडौं,– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एकजना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

महराले विश्वास मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी मात्रै प्रदेशसभा सदस्य छन् । उनलाई सामाजिक विकास मन्त्री बनाउने आश्वासन मुख्यमन्त्रीले दिएका दिएको पार्टीका प्रदेश सचिव सुदन खनालले बताए । ‘लिखित सहमतिमा एउटा मन्त्रालय दिने उल्लेख छ तर अहिले स्वतन्त्र सांसद बस्नेत र हाम्रो माननीयलाई एउटा मन्त्रालयमा आलोपालो मन्त्री बनाउने भन्ने कुरा गरिएको छ’ खनालले भने, ‘यो सहमतिको उल्लंघन र हामीलाई अल्मलाउने कुरा हो, हामी मान्दैनौं ।’

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए विश्वासको मत नदिने बताएको छ । ‘हामीलाई दुई मन्त्रालय दिने लिखित सहमति गर्नुपर्छ र मात्रै विश्वासको मत दिन सकिन्छ’ पार्टी संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘एउटा भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भए पनि हुन्छ, मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’

Logo