माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्र हटाइयो

माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्र हटाइयो

काठमाडौं एक्सप्रेस

DCIM101MEDIADJI_0163.JPG

काठमाडौं, – गृहमन्त्री रवि लामिछानेले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन्। शुक्रबार आफ्नो ट्विटरमा जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति राख्दै उनले यसबारे जानकारी दिएका हुन्।

उनले नयाँ वर्षसँगै तीन सुरूआत भन्दै माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको बताएका छन्।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ, ’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८०/११/०४ मा २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने गरी काठमाडौं जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी भएकोमा हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौंको मिति २०८० / १२ /३० को सिफारिस अनुसार माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई मिति २०८१/०१/०१ देखि उक्त निषेध आदेश कायम नरहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।’

त्यस्तै गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्ने जानकारी पनि दिएका छन्।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान भएको र यो लोकतन्त्रको सौन्दर्य भए पनि आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न नपाइने पनि उनले लेखेका छन्। आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको उनले जनाएका छन्।

’मैले कार्यकाल सुरू गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ,’ उनले लेखेका छन्। गृह मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्ति जारी गर्दै तोकिएका निषेधित क्षेत्र कम गर्ने काम भइरहेको जनाएको छ।

Logo