गठबन्धनभित्र आएको संकट टार्न सुदूरपश्चिममा एसलाई मुख्यमन्त्री दिने गरि छलफल सुरु

गठबन्धनभित्र आएको संकट टार्न सुदूरपश्चिममा एसलाई मुख्यमन्त्री दिने गरि छलफल सुरु

काठमाडौं एक्सप्रेस

काठमाडौं । सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र आएको संकट टार्न एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी छलफल सुरु भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग सुदूरपश्चिम सरकारका विषयमा छलफल गरेका थिए ।

त्यस क्रममा नाउपा अध्यक्ष रञ्जिताले सुदूरपश्चिममा मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने दाबी गरेकी थिइन् । एकीकृत समाजवादीका नेता खनालले भने सत्ता गठबन्धनमा यसअघि नै सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुलाई दिने सहमति भएको स्मरण गराउँदै त्यसको कार्यान्वयन नभए त्यसपछिको परिस्थितिको जिम्मा आफूहरुले नलिने चेतावनी दिएका उनीनिकट एक नेताले जानकारी दिए ।

त्यसपछि सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले नै लिने विकल्पमा छलफल भएको थियो । त्यसमा नाउपा अध्यक्ष रञ्जिता पनि सकारात्मक रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो पनि छलफल राखेका छन् । छलफलमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने विषयमा सहमति भएमा प्रदेश प्रमुख नजिर मियाँले अहिले मुख्यमन्त्रीमा दाबी गरेका दुबै जनाको दाबी खारेज गर्ने स्रोतको भनाइ छ ।

त्यसपछि पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्ने र एकीकृत समाजवादीले सत्ता गठबन्धन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सत्ता गठबन्धनको तयारी छ । एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘भरेसम्म यो बाटोमा जान पनि सक्छ ।’

सुदूरपश्चिममा प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले र एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका छन् । दुई जनाको दाबी परेपछि कानुनी परामर्श गर्ने भन्दै प्रदेश प्रमुख मियाले निर्णय दिएका छैनन् ।

एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धनलाई साथ नदिएर कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्रको खटपट सार्वजनिक भएको थियो ।

Logo