राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको औचित्य

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको औचित्य


हरेक साल वैशाख र कार्तिक महिनामा सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत २०८१ सालको पहिलो कार्यक्रम वैशाख ६ र ७ गते आयोजना हुुन गइरहेको छ । वर्षमा दुई पटक गरि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । नेपाल सरकारले २०५३ सालदेखि राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ वटा बहु–सुक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ देखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटालाई २०६६ सालदेखि समावेश गरिएको हो ।

किन आवश्यक छ भिटामिन ‘ए’ ?
हाम्रो शरीरमा आवश्यक पर्ने विभिन्न किसिमका पोषक तत्वहरुमध्ये भिटामिन पनि एक हो । भिटामिनहरुका विभिन्न प्रकारहरु हुन्छन् । ती मध्ये एक भिटामिन ‘ए’ पनि हो । स्वास्थ्य सम्वद्र्धन र रोग प्रतिरक्षा शक्ति अभिवृद्धि गर्न मानव शरीरमा भिटामिनको भूमिका हुने गर्दछ । शरीरमा भिटामिन अन्य पोषक तत्वको तुलनामा अत्यन्तै थोरै मात्रामा आवश्यक पर्छ तर निरन्तर परिपूर्ति भईरहनुपर्छ । हाम्रै करेसाबारीमा सजिलै प्राप्त हुन सक्ने भिटामिन ‘ए’ युक्त खाद्य पदार्थको नियमित आहारले समग्र रुपमा स्वस्थ रहन र त्यसको अभाव वा कमीले हुने रोग विरुद्ध प्रतिरक्षात्मक कार्य गर्दछ । यसको उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै राति वा कम प्रकाश भएको अवस्थामा नदेख्ने स्थिति जसलाई हामी रतन्धो भन्दछौं, त्यसबाट जोगाउँदछ । भिटामिन ‘ए’ ले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोग समेत लाग्नबाट समेत बचाउँछ ।

भिटामिन ‘ए’ को कमीका कारण बालबालिकाहरु दृष्टिविहीन हुन सक्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार भिटामिन ‘ए’ को कमीका कारण हरेक वर्ष साढे २ लाखदेखि ५ लाख बालबालिकाहरु अन्धोपनको शिकार हुन्छन् । आहारमा भिटामिन ‘ए’ को कमी हुनाले नेपाल लगायत दक्षिणपूर्वी एसियाका बालबालिकाहरुमा, आँखासम्बन्धि समस्याको जोखिम अति उच्च छ । यसको कमीले हुने पखालाजस्ता स्वास्थ्य समस्याले बच्चाको ज्यानै पनि जान सक्छ । त्यसैले हरेक मानिसलाई भिटामिन ‘ए’ आवश्यक हुन्छ, विशेषगरी आमा र शिशुका लागि झन अति आवश्यक हुने गर्दछ ।

भिटामिन ‘ए’ युक्त खाद्यपदार्थ नखाँदा पनि शरीरमा यसको कमी हुन गई दृष्टि कमजोर हुनु, आँखामा आँसु नबन्नु, आँखा सुख्खा हुने, छाला, ओठ फुट्ने र मुखमा घाउ आउने समस्या हुन्छ । कमजोर दृष्टि वा अन्य कोर्नियल समस्याहरूको उच्च जोखिम हुन सक्छ । यसका साथै घाउ चाँडै निको नहुने, मूत्रासयमा संक्रमण हुने सम्भावना पनि हुन्छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि–विकासमा असर गर्ने, कुपोषण हुने र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्ने, प्रतिरोधात्मक क्षमतामा कमी तथा दीर्घरोगहरु देखा पर्दछ । शरीरमा रगतको जाँचबाट भिटामिन ‘ए’ को मात्रा पत्ता लगाउन सकिन्छ ।

भिटामिन ‘ए’ ले रक्तअल्पताबाट बचाउँछ । संक्रमणको सामना गर्न मजबूत प्रतिरोधक क्षमता तयार पार्नुका साथै । गर्भको शिशुको मुटु, फोक्सो, मिर्गाैला, हड्डी र आँखा बनाउन मद्दत गर्दछ ।

भिटामिन ‘ए’ को प्रयोग विशेषगरी बाल स्वास्थ्य सम्बन्धी रोग तथा अन्य समस्याहरुको उपचारमा समेत हुने गर्दछ । जस्तै; रतन्धो रोग, दादुरा, दीर्घ किसिमको झाडापखाला, कडा प्रकारको कुपोषण, श्वासप्रश्वास सम्वन्धि रोग तथा छालाको रोग आदि ।

बालबालिकाको ५ वर्ष उमेर भित्रमा मानसिक र शारीरिक विकास तीव्र गतिमा हुने भएकोले पोषणको कमी हुन नदिन भिटामिनयुक्त खानाहरु खुवाउनुपर्दछ ।

भिटामिन ‘ए’ कसरी प्राप्त गर्ने ?
यो अत्यावश्यक भिटामिन दैनिक आहारमार्फत प्राप्त गर्न सकिन्छ । हामीले आफ्नो आहारमा बीटा क्यारोटिन युक्त खाद्यवस्तुहरु समावेश गर्नुपर्दछ । जस्तै; पालक, गाँजर, आँप, मेवा, पाकेको फर्सी, ब्रोकाउली, गोलभेंडा, पालुङ्गो, रायो लगायत हरियो सागसब्जी, पहेंलो फलहरू, दूध, माछा, घ्यु, अन्डाको पहेँलो भाग, आदिबाट भिटामिन ‘ए’ का भरपर्दो श्रोत हुन् ।

भिटामिन ‘ए’ को आवश्यक मात्रा कति हो त ?
अनुसन्धानका अनुसार पुरुषले ९०० एम.सी.जी., महिलाले ७०० एमसीजी र बालबालिका र किशोर किशोरीले प्रतिदिन ३००–६०० एमसीजी भिटामिन ‘ए’ आवश्यक पर्दछ ।

भिटामिन ‘ए’ को फाइदाहरु के–के छन् ?

क) आँखाको लागि राम्रो
भिटामिन ‘ए’ आँखाको ज्योति तेजिलो राख्नको लागि आवश्यक हुन्छ किनकी भिटामिन ‘ए’ ले आँखामा आउने प्रकाशलाई मस्तिष्कमा पठाउन विद्युतीय संकेतमा रूपान्तरण गर्न आवश्यक पर्दछ । भिटामिन ‘ए’ युक्त आहारको पर्याप्त सेवनले आँखामा लाग्ने केही रोगहरूबाट बचाउन मद्दत गर्छ ।

ख) प्रतिरक्षा बढाउँछ
भिटामिन ‘ए’ ले शरीरको प्रतिरक्षा प्रणालीको प्रतिकृयात्मक क्षमतालाई उत्तेजित गरि रोग र संक्रमणबाट बचाउने कार्यमा सहयोग गर्दछ ।

ग) हाडलाई बजबुत राख्ने
मानिसको उमेर अनुसार हाडलाई स्वस्थ र बजबुत बनाई राख्न प्रोटिन, क्याल्सियम र भिटामिन डी आवश्यक पर्ने मुख्य पोषक तत्वहरू हुन् । अनुसन्धानका अनुसार खानामा भिटामिन ‘ए’ को मात्रा पर्याप्त हुने मानिसमा हाड भाँचिने जोखिम ६ प्रतिशतले कम हुन्छ ।

घ) क्यान्सर जोखिम कम
केही विज्ञहरूले क्यारोटिनोइड्सको पर्याप्त सेवनले फोक्सो, प्रोस्टेट तथा अन्य प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ भनी पत्ता लगाएका छन् । भिटामिन ‘ए’ ले कोशीकाहरूको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले यसले क्यान्सरको जोखिम कम गर्न सक्छ ।

ङ) प्रजनन र भ्रुण विकास
भिटामिन ‘ए’ ले शुक्राणु र डिम्बको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले महिला र पुरुष दुवैको प्रजनन् क्षमताको लागि आवश्यक हुन्छ । यो भ्रुणलाई ढाकेर राख्ने झिल्लीलाई मजबुत बनाउनुका साथै भ्रुणको तन्तुहरूको वृद्धि विकासमा सहयोग गर्दछ ।

च) अन्य फाइदाहरू
छालाको समस्या छुटकारा मिल्नुका साथै कपालको वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । छालालाई स्वस्थ राख्दै छालामा हुने सूजनलाई पनि कम गर्न मद्दत गर्छ । अनुसन्धानका अनुसार भिटामिन ‘ए’ नपाएका मानिसहरूमा एक्जिमा, छाला सुख्खा हुने, चिलाउने र सुन्निने समस्या हुन सक्छ साथै छालाको कोसिकाहरूलाई पनि दीर्घकालीन रुपमा क्षति पुर्‍याउन सक्छ । पेटको संक्रमण, मुत्रमार्गको संक्रमण स्वासमार्गको संक्रमण आदिबाट समेत जोगाउने कार्य गर्दछ ।

Logo