धरौटीमा छुटेका दीपेश पुन पुनः पक्राउ

धरौटीमा छुटेका दीपेश पुन पुनः पक्राउ

काठमाडौं एक्सप्रेस

रुपन्देही, – धरौटीमा रिहा भएका दीपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पुन शुक्रबार मात्र धरौटीमा रिहा भएका थिए ।

उनी रिहा भएलगत्तै सीआईबीले नियन्त्रणमा लिएको हो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको स्रोतले जनाएको छ ।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनीलाई पक्राउ गरिएको बताइएको छ ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुनले अदालतले तोकेको धरौटी रकम बुझाएपछि तारेखमा छाडिएको बताए ।

Logo