कस्ले लगायो इलाममा नक्कली मतदान गर्न ?

कस्ले लगायो इलाममा नक्कली मतदान गर्न ?

काठमाडौं एक्सप्रेस

इलाम, – इलाम– २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो ।

प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ । मतदान केन्द्र भित्रै २ घण्टासम्म सो कार्य गर्न कसले अनुमति दियो, कसले सेटअप ग¥यो भन्ने विषयमा प्रशासन बेखबर थियो ।

मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र टेबल सेटअप नै गरी सो समूहले पोल सञ्चालन गरेको थियो । नक्कली भोट पनि खसालेर आएका एक मतदाताले भने, ‘भोट हालेर निस्कने बित्तिकै क्याम्पसभित्रै टेबल राखेर बसेकाहरुले भित्र जुनमा भोट हाल्नुभयो, यसमा पनि हाल्नुस् भनेपछि हामी त सरकारकै नयाँ नियम रहेछ भनेर नक्कली भोट पनि खसालेछम् ।’

निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

Logo