इलाम–२ को मतगणना सुरु ११ बजेदेखि

इलाम–२ को मतगणना सुरु ११ बजेदेखि

काठमाडौं एक्सप्रेस

इलाम, – इलाम–२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।

निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो । मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो ।मतगणना सिटी हलमै हुनेछ ।

इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

यो क्षेत्रमा दलका र स्वतन्त्र गरी २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Logo