सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति भारतले जनायो विरोध

सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति भारतले जनायो विरोध

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्।

शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्।

‘हामी स्पष्ट छौं। नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो।

एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो।

जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको थियो।

Logo