सर्वोच्चमा पदपूर्ति नहुँदा न्यायाधीशको संख्या घट्दै

सर्वोच्चमा पदपूर्ति नहुँदा न्यायाधीशको संख्या घट्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – एकपछि अर्को न्यायाधीशले अवकाश पाउने, तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गइरहेको छ ।

आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।

प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै न्यायाधीश छन् ।

लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए । ५ मंसिर, २०८० मा ६ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । त्यतिबेला समेत एउटा पद रिक्त राखेर अरुमा मात्रै नाम सिफारिस गरिएको थियो ।

त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुष्मालता माथेमाले अवकाश पाएकी छन् । अहिले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।

३२ जेठमा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उमेरहदबाट अवकाश पाउँदैछन् ।

अर्को सातापछि उनपको ठाँउमा समेत न्यायाधीश सिफारिसको बाटो खुल्छ । किनभने नेपालको संविधानमा संवैधानिक पदाधिकारीहरु अवकाश हुनुभन्दा एक महिनाअघि नै रिक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक परिकल्पना छ ।

Logo