सरकार छाड्नुअघि पार्टीको कार्यकारिणी बैठक बोलाए उपेन्द्र यादवले

सरकार छाड्नुअघि पार्टीको कार्यकारिणी बैठक बोलाए उपेन्द्र यादवले

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गरेका छन् । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुगेका हुन् ।

अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आइतबार विहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिएका थिए ।

‘उहाँले अहिले सँगै जाने परिस्थिति छैन, म पार्टी विभाजनमा भएको षड्यन्त्रविरुद्ध अदालतमा जान्छु भन्नुभयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘परिस्थितिको बारेमा कुरा राख्ने सिलसिला चल्यो । उहाँले अब सरकार छाड्नुहुन्छ भन्ने बुझेका छौं ।’

यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाकेका छन् । एक नेताका अनुसार अहिले पार्टी कार्यकारिणी सदस्यहरु काठमाडौैं आउने क्रम जारी छ ।

अध्यक्षले आफूहरुलाई विकसित परिस्थितिबारे टेलिफोनमा ब्रिफिङ गरिसकेको एक नेताले सुनाए । पुनगठित प्रचण्ड सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री थिए ।

Logo