संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्छौ : अध्यक्ष ओली

संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्छौ : अध्यक्ष ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । सभामुख देवराज घिमिरेले सोमबार अपरान्ह ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख घिमिरेले संसद अवरोध अन्त्य गर्न र नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद सौहार्दपूर्ण हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

जवाफमा अध्यक्ष ओलीले संसद खुलाउने विषयमा छिटै निष्कर्षमा पुग्ने जवाफ दिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।

समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने कांग्रेसको चेतावनी छ । सरकार र सत्ता गठबन्धन भने छानबिन समिति गठन गर्न तयार भएको छैन । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न मंगलबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने कांग्रेसको चेतावनीपछि सभामुख घिमिरेले शीर्ष नेताहरुसँग संवाद गरेका छन् । सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका थिए । राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न सभामुखले शीर्ष नेताहरुलाई अपिल गरेका हुन् ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने माग राखेका छन् । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताए । सभामुखले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग समेत छलफल गरे ।

Logo