महिलालाई आत्मनिर्भर बनाउँदै महालक्ष्मी नगरपालिका

महिलालाई आत्मनिर्भर बनाउँदै महालक्ष्मी नगरपालिका

काठमाडौं एक्सप्रेस

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाले तीन महिने सिलाइ सम्बन्धी सीप विकास तालिम सुरु गरेको छ । थ्रेड गार्मेन्ट र महालक्ष्मी नगरपालिकाको सहकार्यमा मंगलबारदेखि ललितपुरमा सुरु भएको हो ।

तीन महिनासम्म सञ्चालन तालिमको उद्घाटन नगर उपप्रमुख लक्ष्मी महर्जनले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महर्जनले तालिमले रोजगारसँगै नगरपालिकाको स्वरोजगार नीतिलाई टेवा पुग्ने बताइन् । उनले भनिन्, “प्रत्येक स्थानीयको भवनालाई बुझेर रोजगारी, सीप विकास र हरेक पूर्वधारमा जोड दिने हाम्रो लक्ष्य पनि हो ।”

तालिममा ८८ जनाको सहभागिता रहेको नगरपालिका श्रम तथा रोजगार शाखाले जनाएको छ । त्यसमा तीन जना पुरुषको सहभागिता छ । महिलालाई सीपसँग जोडेर उनीहरुको आर्थिक अवस्थालाई उकास्ने उपप्रमु्ख महर्जनको भनाइ छ “विकास भनेको ठुलै मात्र हुन्छ भन्ने छैन । हामीले ससाना कुराहरुलाई पनि ध्यानमा राख्नुपर्छ।”

तालिमले सीप तथा रोजगारबाट पछि परेका महिलाहरुहरुलाई अगाडि बढ्न सहयोग गर्ने उपप्रमुख महर्जनको दाबी छ । उनले भनिन्, “नगरपालिकाभित्र धेरै महिला रोजगारको पहुँचमा छैनन । यसलाई मध्यनजर गरेर आर्थिक वर्षदेखि नै विभिन्न शीर्षकमा महिला लक्षित कार्यक्रम तय गर्नेछौँ।”

नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले महिलाहरुलाई सक्षम बनाउन यस्तो सीप विकासका कामहरु गरिरहने बताए । उनले भने, “साँच्चै नगरपालिकालाई समृद्ध बनाउन महिलाहरुको आयआर्जन उकास्न जरुरी छ । यसमा हामीले काम पनि गरिरहेका छौँ ।”

महिलासँग सीप र उद्यम भयो भने परिवार, समाज नै सफल हुने निर्देशक पौडेलको भनाइ छ । “हरेक मानिसको जिन्दगीमा एउटा अवसर आउँछ । त्यो अवसरलाई समात्न सक्यो भने अवश्य पनि सफल भइन्छ । तर त्यो अवसर कति बेला आउँछ, कुनबेला आउँछ, त्यो हामीलाई थाहा हुँदैन। अब नगरपालिकाले त्यो अवसर दिने छ,” उनले भने ।

कार्यक्रमा थ्रेड गार्मेन्टका प्रमुख कायकारी अधिकृत कृष्णराज तिमिल्सेनाले तालिमबाट ‘पास आउट’ भइसकेपछि कम्पनीमै रोजगारी दिने आश्वासन दिए। उनले भने, “हामी तालिम मात्र दिँदैनौँ। रोजगारी पनि दिन्छौँ। तालिम अवधिभर धैर्यताका साथ सीप सिक्न मेरो आग्रह छ ।”

देशमा यतिबेला काम गर्ने जनशक्ति घटिरहेको छ । श्रम गर्नेहरुको अभाव भइरहेको छ । युवाहरुले रोजगारी नपाएको गुनासो आइरहन्छ । “युवाहरुले एकतर्फ भनिरहनु भएको छ, काम पाएका छैनौँ। हामी भने काम गर्ने मान्छेहरु पाइरहेको अवस्था छैन,” थ्रेड गार्मेन्टका प्रमुख कायकारी अधिकृत तिमिल्सेनाले भने, “तपाईंहरुले सीप सिकेर आत्मनिर्भर बन्नुहुनेछ भन्ने आश छ ।”

कार्यक्रमा प्रशासन प्रमख ईन्द्रप्रसाद अधिकारी, वडा नम्बर एकका वडाध्यक्ष छिरिङ लामा, २ का अध्यक्ष ध्रुव खत्री, कार्यपालिका सदस्य माधव श्रीमालीलगायतको उपस्थिति थियो ।

Logo