नेपालका वातवरण स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहमा नियुक्त

नेपालका वातवरण स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहमा नियुक्त

काठमाडौं एक्सप्रेस

नेपालका वातावरणीय स्वास्थ्य वैज्ञानिक डाक्टर मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहमा नियुक्त भएका छन् । डब्लूएचओको नसर्ने संक्रामक रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूह(STAG-NCD)को विज्ञ सदस्यमा नियुक्त भएका हुन् ।

डब्लूएचओको यो सल्लाहकार समूहले विश्वव्यापी रूपमा नसर्ने संक्रामक रोगहरूको नियन्त्रण र रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले सन् २०२१ अक्टोबरमा स्थापना गरिएको थियो ।

डा. धिमालसँग वातावरणीय स्वास्थ्य,जलवायु परिवर्तनको अनुसन्धान क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ । हाल उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का मुख्य अनुसन्धान अधिकृतको रूपमा कार्यरत छन् । उनी नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)का सह-प्राज्ञ समेत हुन् । अनुसन्धानकर्ता धिमाल येल विश्वविद्यालयको भिजिटिङ फ्याकल्टीको रूपमा समेत कार्यरत छन् ।

दर्जनभन्दा बढी वैज्ञानिक अवार्ड र पुरस्कार पाएका वैज्ञानिक धिमाल अन्तर्राष्ट्रिय विज्ञान परिषदको सदस्यको रूपमा नेपालबाट चयन हुने पहिलो फेलो पनि हुन् ।

STAG-NCD को सदस्यको रूपमा उनी नसर्ने संक्रामक रोगहरूको रोकथाम र नियन्त्रणमा हालका र भावी चुनौतीहरू पहिचान गर्ने, डब्लूएचओलाई आवश्यक पर्ने रणनीतिक योजनाहरू निर्माण, वैश्विक रणनीतिक दस्तावेज निर्माणमा सल्लाह दिने र अन्य रणनीतिक प्रस्ताव निर्माण तथा कार्यहरूमा संलग्‍न हुने छन् ।

उनको यस नियुक्तिले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान दिलाउने र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Logo