हटौंडामा कछुवा संरक्षण र्‍याली

हटौंडामा कछुवा संरक्षण र्‍याली

काठमाडौं एक्सप्रेस

कछुवा संरक्षणको माग गर्दै संरक्षण र्‍याली निकालिएको छ । वाइल्डलाइफ कन्जर्भेशन एण्ड रिसर्च एण्डेभर (वाइल्ड केयर) नेपालले विश्व कछुवा दिवसको असर पारेर बिहीबार हेटौंडामा संरक्षण सचेतना र्‍याली निकालेको हो ।

विद्यार्थीहरूले अनुहारमा कछुवा सम्बन्धीका स्टिकर तथा पोस्टकार्डहरु निकाल्दै फरेस्ट्री कलेजको मुख्य प्रवेशद्वार झन्डा चोक र बुद्ध चौक हुँदै फरेस्ट्री कलेजको प्रवेशद्वारमा आएर र्याली टुंगिएको थियो । कछुवालाई घरमा पाल्न नहुने, कछुवाको अवैध कारोबार बन्द गर्नुपर्ने र संरक्षणमा जोड दिनुपर्ने भन्दै र्‍यालीमा निकालेका थिए ।

कछुवा सम्बन्धी जानकारी र त्यसको संरक्षणको महत्व जनाउने उद्देश्यले वाइल्ड केयरले समुदायमा सचेतनामूलक काम गर्ने भन्दै मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा सचेतनामूलक कार्यक्रम गरेको थियो । यस्तै स्थानीवासीलाई लक्षित गरेर हु्प्रा चौरमा उनीहरूले कछुवाको संरक्षण र आवश्यकताबारे जानकारी गराउँदै अवैध कारोबार बन्द गर्नुपर्ने भन्दै सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

हरेक वर्षको मे २३ लाई विश्व कछुवा दिवसको रूपमा मनाइने गरिन्छ । कछुवा प्रजातिहरू विश्वमा सबैभन्दा धेरै खतरामा रहेका जीवहरूमा पर्छन् । कछुवाका आधा जसो प्रजातिहरू कुनै न कुनै हिसाबले लोपको खतरामा रहेको अनुसन्धानर्ता रमा मिश्र बताउँछिन् । उनी भन्छिन्,’नेपालमा पाइने १७ प्रजातिका कछुवाहरूमध्ये ठोटरी भनिने एलोन्गेटेड टोर्टोइज मात्र जीवनमा पाउँछ यो अति संकटापन्न जीवमा पर्छ ।’ मासु, अवैध चोरी शिकारी र घरपालुवा जीवको रूपमा प्रयोग हुँदा संख्या घट्दो अस्थामा छ ।

वाइल्ड केयरका अनुसन्धानकर्ता सविन अधिकारीका अनुसार कछुवा बिस्तारै वयस्क हुने जीव भएकाले यसको अधिक उपभोगले संख्यामा ठूलो प्रभाव पार्ने गर्छ । प्रकृतिमा कछुवाहरूले ४ देखि १०० सम्म अण्डा दिन सक्छन् तर थोरै मात्र वयस्क अवस्थासम्म पुग्ने उनले बताए । नेपालको कानुनले कछुवा पालन गर्न र बेच्‍न बन्देज गरेको छ ।

वाइल्ड केयरकी अध्यक्ष रमा मिश्रले आफूहरुले प्रमाणमा आधारित अनुसन्धानसँगै कछुवा जस्ता कम चासो भएका जीवहरू पनि प्राथमिकतामा रहेको बताइन् । कछुवाहरू जस्ता उपेक्षित प्रजातिहरूको संरक्षण आवश्यक रहेको बताउँदैउनले आफूहरुले आगामी दिनमा प्राथमिकताका साथ अध्ययन अनुसन्धानमा ध्यान दिने मिश्रको भनाइ छ ।

Logo