संघीयताले राज्यको सेवा सुविधामा सहज पहुँच स्थापित गरेको छ : स्वास्थ्य मन्त्री श्रेष्ठ

संघीयताले राज्यको सेवा सुविधामा सहज पहुँच स्थापित गरेको छ : स्वास्थ्य मन्त्री श्रेष्ठ

काठमाडौं एक्सप्रेस

काठमाडौं- बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले संघीयताले राज्यको सेवा सुविधामा सहज पहुँच स्थापित गरेको बताएका छन् ।

गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा मङ्गलबार शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री श्रेष्ठले संघीयताले समाजका हरेक तप्काका मानिसलाई सम्मानित जीवन दिने, राज्यको सेवा सुविधामा सहज पहुँच दिलाउने र निर्णय प्रक्रियामा सबैको सहभागिताको सुनिश्चितता गर्ने उद्देश्य बोकेको बताए । उनले भनेका छन्- ‘संघीयतालाई सफल बनाउन सबै राजनीतिक दललगायत सबै समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्माण भएको संविधानले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको लक्ष्य राखेको उल्लेख गरेका छन् ।

नेपालमा ९ वर्षदेखि संघीयताको अभ्यास भइरहेको बताउँदै मन्त्री श्रेष्ठद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ- ‘संघीयताले दूरदराजका गाउँहरूमा राज्यबाट प्रदान गरिने सेवा सुविधा तथा शासन प्रशासनको प्रभावकारिता र पहुँच सुनिश्चित गरेको छ ।’

मन्त्री श्रेष्ठले १७ औं गणतन्त्र दिवसका अवसरमा नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय सहमतिका आधारमा समृद्ध नेपाल सुखी नेपालीको कार्यभार पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वास व्यक्त गरेका छन् ।

Logo