महालक्ष्मी.को खानेपानी समस्या समाधान गर्ने मन्त्री राईको प्रतिबद्धता

महालक्ष्मी.को खानेपानी समस्या समाधान गर्ने मन्त्री राईको प्रतिबद्धता

काठमाडौं एक्सप्रेस

ललितपुर– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले महालक्ष्मी नगरपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

वडा नम्बर ८ को कार्यालय भवन शनिबार उदघाटन गर्दै मन्त्री राईले नगरको खानेपानी समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि काम गर्ने बताए । “यहाँको केही वडाहरूमा खानेपानी समस्याबारे म जानकार छु,” उनले भने, “आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित हुनेवित्तिकै विशेष ध्यान दिएर समस्या समाधानको लागि काम गर्दछु ।”

मन्त्री राईले नगरपालिकाले छोटो समयमा नै विकासमा फड्को मारेको बताउँदै जनप्रतिनिधिहरूलाई जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न अपिल गरे । उनले नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले विकासमा गर्नुभएका कामको प्रशंसा गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेम महर्जनले खानेपानी लगायत विकासका योजनाहरूमा विगतको वर्षमा भन्दा आगामी वर्ष धेरै काम हुने उल्लेख गरे । उनले बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ समेत महालक्ष्मी क्षेत्रबाटै रहेकाले धेरै विकासे कामहरू हुने बताए ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाका १० मध्ये ६ वटा आफ्नै भवनमा सञ्चालन भएको, ३ वटा अन्तिम चरणमा पुगेको र वडा नम्बर ४ को पनि जग्गा टुंगो लाग्नेवित्तिकै काम सुरु हुने जानकारी दिए । उनले आगामी वर्षदेखि नगरपालिकाको प्रशासकीय भवनको काम सुरु गर्ने बताए । नगर प्रमुख श्रेष्ठले नगरको मुख्य समस्या खानेपानी रहेको बताउँदै मेलम्चीको कार्यक्षेत्रभित्र पार्न मन्त्री राईको ध्यानाकर्षण गराए ।

नगर उपप्रमुख लक्ष्मी महर्जनले पनि प्रशासकीय भवन निर्माणसँगै नगरपालिकाले विकासको कामले एउटा नतिजा प्राप्त गर्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र वडाध्यक्ष विश्वराज श्रेष्ठले वडा कार्यालय समयमा नै र कम लागतमा गुणस्तरीय निर्माण भएको बताए ।

Logo