ओलीलाई माओवादीको प्रश्न : समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी ?

ओलीलाई माओवादीको प्रश्न : समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी ?

काठमाडौं एक्सप्रेस

काठमाडाैँ, – माओवादीका सचिव देवेन्द्र पौडेलले बजेट सल्लाह नै नभएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरामा सत्यता नभएको जिकिर गरेका छन् । उनले ओलीले भनेका एकदुई वटा योजना छुटेको हुनसक्ने भए पनि सल्लाह नै नभएको भन्ने कुरामा सत्यता नभएको बताए ।

माओवादीका सचिव पौडेलले बजेट सल्लाहमै आएको भन्दै उनले बजेटमा क्याबिनेटमा मन्त्रालयहरुबाट आउने योजना नै आउने बताए ।

तर, केपी ओलीले त यो माओवादीतिर मात्रै ढल्किएको छ भन्ने अभिव्यक्ति दिनुभयो नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यो उहाँले कसरी भन्नुभयो हामीलाई जानकारी भएन । तर, सल्लाहमै आएको हो । समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी हुन्छ । पोहोरको भन्दा दोब्बर छ ।’

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् । एमालेका सचिवसमेत रहेका महासेठ एमालेको नेतृत्व गरेर प्रचण्ड सरकारमा छन् ।

ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका थिए । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको टिप्पणी गरेका थिए ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा भोलिबाट प्रतिनिधिसभामा छलफल हुँदैछ । ओलीले बजेटको आलोचना गरे पनि प्रधानमन्त्री प्रचण्डले सन्तुलित र समाजवादउन्मुख बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको हिजो बसेको संसदीय दलको बैठकमा प्रशंसासमेत गरेका थिए ।

Logo