प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था छैन : माधव नेपाल

प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था छैन : माधव नेपाल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुका बैठकमा सहभागी भएका थिए ।

नेपालले विपक्षी दलका नेतासँगको भेटवार्ताका विषयमा सरकारमा कुनै असमझदारी नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए । ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ’, उनले भने, ‘अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन ।’

विपक्षी दलका नेतासँगको भेटवार्ताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक नै रहेको नेता नेपालको दाबी छ । ‘उहाँ (प्रधानमन्त्री)ले ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेन्ट फाइनल नगरिदिनु होला भन्नुभयो’, उनले भने, ‘एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

यद्यपि, सरकारमा बस्ने कि नबस्ने भन्नेमा अन्योल रहेको नेता नेपालले बताए । उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको पनि सुनाए । ‘सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकपछि टुंगो लगाउने नै छौं’, उनले भने ।

Logo