विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । हिजो मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्दै आज प्रदेश सभामा ल्याउने तयारी गरेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गलाई ४ बजेको समय मिलाइएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले दिउँसो ४ बजेबाट प्रदेश प्रमुख खापुङ्गले आगामी वर्षको नीति तथा कार्यक्रमको सम्बोधन गर्ने बताए ।
यसैबिच कोशी प्रदेश सभा बहिस्कार गर्दै आएको नेपाली काङ्ग्रेस पनि आजको नीति तथा कार्यक्रम प्रस्तुत हुने सभामा सहभागी हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख २६ गते नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै काँग्रेसले कोशी प्रदेश सभा बहिस्कार गरेको छ ।
संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीले विश्वासको मत लिने सभा समेत काँग्रेसले बहिस्कार गरेको थियो । आजको सभामा भने सहभागी हुने नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए । उनले काँग्रेस आजको सभामा सहभागी हुने बताए ।
प्रतिक्रिया