काठमाडौँ, – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा भाग लिँदै उहाँहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।
सांसद महेशकुमार बर्ताैलाले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिए । “आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गरेका छन् ।
कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ”, उनले भने, “मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन् । बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझोमुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ ।”
सांसद बर्ताैलाले आगामी आवमा लिइएको लक्ष्यहरु सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए ।
सांसद प्रभु साहले विप्रेषण छली गर्न हुन्डी कारोबार बढिरहेको भन्दै हुन्डी कारोबार रोक्ने र मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताए । “विनियोजन भएको बजेट वक्तव्य हेर्दा देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिने र समनाताको अनुभूति दिलाउने गरी आउन सकेन”, उनले भने, ।
प्रतिक्रिया