‘बसाँइसराइ व्यवस्थित गर्न दीर्घकालिन योजना चाहिन्छ’

‘बसाँइसराइ व्यवस्थित गर्न दीर्घकालिन योजना चाहिन्छ’

काठमाडौं एक्सप्रेस

हामी आज ‘नीति, योजना र विकासमा जनसंख्या तथ्याङ्कको प्रयोग’ का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा छौं । यस महत्वपूर्ण सवालमा सरोकारवालाबीच छलफलको अवसर जुराउनु भएकोमा सर्वप्रथम आयोजक संस्थाप्रति आभार व्यक्त गर्दछु ।

उपस्थित महानुभावहरू, जनसंख्याका मुद्दालाई विकासका हरेक क्षेत्रमा समावेश गर्न नीति, कार्यक्रम र योजना आवश्यक हुन्छ । जनसंख्यासँग सम्बन्धित सवाललाई एकीकृत गर्दै त्यसको सहज परिचालन र समयसापेक्ष बनाउन सकियो भने मात्र हामीले भन्दै आएको समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । जनसंख्यालाई बढी उत्पादनशील बनाउन सीप तथा क्षमता विकासमा जोड दिनुपर्ने आजको आवश्यकता हो ।

जनघनत्व धेरै तर दक्ष छैनन् भने विकासमा योगदान गर्न सकिदैन । त्यसका लागि हामीसँग जनसंख्या व्यवस्थापनको दीर्घकालीन ठोस योजना हुनुपर्दछ । जनसंख्या, भूगोल र विकासलाई मध्यनजर गर्दै सोहीअनुरुपका नीति र कार्यक्रम बनाउँदा प्रभावकारी रुपमा काम गर्न सकिन्छ । यी विषयलाई सरोकारवाला सबै निकायले आत्मसाथ गरेर अघि बढ्दा मुलुकको समग्र विकासमा मद्दत पुग्दछ ।

विकासका लागि जनसंख्या महत्वपूर्ण पक्ष हो । यसर्थ, जनसांख्यिक अवस्थाका बारेमा थप अध्ययन र वस्तुपरक विश्लेषण हुनु आवश्यक छ । कर्णाली प्रदेशका सन्दर्भमा यो झनै जरुरी देखिन्छ । जनसंख्या कति छ ?, उर्जाशील र उत्पादनशील जनसंख्या के–कति छ ?, दक्ष, अदक्ष, शिक्षित र स्वस्थ जनसंख्या कति छ ? भन्नेजस्ता तथ्यपरक विवरणहरूले हामीलाई आगामी विकास योजना र रणनीति तय गर्न सहज हुन्छ ।

पछिल्ला वर्षहरूमा रोजगारी र विभिन्न सुविधाहरूको खोजि गर्दै शहरी क्षेत्रमा बसाइँसराइ गर्नेको दर बढ्दो छ । यसले गर्दा एकातिर गाउँहरू रित्तिने जोखिम बढेको छ भने अर्कोतर्फ शहरी बजारक्षेत्रमा जनघनत्व अत्याधिक हुँदा त्यसको व्यवस्थापनमा चुनौतीहरू देखिने गरेका छन् । रोजगारीका पर्याप्त अवसर नहुँदा विदेशीने युवाहरूको संख्या पनि बर्सेनि बढिरहेको छ । उर्जाशील जनसंख्या बाहिर जाँदा यसले मुलुकको विकासमा दीर्घकालीन असर पार्ने देखिएको छ ।

जनसंख्याको व्यवस्थापनका लागि यसकारण पनि उपयुक्त विकास नीति र तथ्याङ्क आवश्यक पर्दछ । विज्ञहरूको कार्यपत्र प्रस्तुतिसहितको यो छलफलले खासगरी कानुन निर्माण तथा विकासका क्षेत्रमा काम गरिरहेका माननीयज्यूहरू र स्थानीय तहका जनप्रतिनिधिलाई कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरेको छु । जनसंख्या र विकास नीतिको सवाललाई मैले पनि गम्भीरताका साथ लिएको छु । कर्णाली प्रदेशसभाको नेतृत्वकर्ताको हैसियतले यस सम्बन्धि ऐन, कानुन निर्माण तथा कार्यक्रमहरू सञ्चालनमा मेरो सकारात्मक र समन्वयात्मक भूमिका रहने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।

अन्तमा, यस अन्तरक्रियात्मक कार्यक्रमले विकास र प्रशासनसँग सम्बन्धित योजना तर्जुमा, नीति निर्माण एवम् कार्यक्रमहरूको तयारीमा जनसांख्यिक तथ्याङ्कको प्रयोगका विषयमा विमर्श हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

(राष्ट्रिय तथ्यांक कार्यालय,अपिल मिडिया र द एशिया फाउण्डेसनको आयोजनामा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख नन्दा गुरुङले व्यक्त गर्नु भएको मन्तव्यको पूर्ण पाठ)

Logo