लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं एक्सप्रेस

रुपन्देही, – लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनले अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै फैसला गरेको हो ।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए ।

जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए। भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुष लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाएको छ।

भट्टराईलाई सजाय तोक्नका लागि बेग्लै सुनुवाइ हुनेछ। सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ। ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ। कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए।

तर पछिल्लो पटक कोषको उपाध्यक्षमा ल्यारकल लामा आएपछि उनलाई हटाएर स्मिता भट्टलाई सो जिम्मेवारी दिइएको थियो । भट्टराई विकास कोषमा पदाधिकारी नहुँदा विभिन्न समयमा निमित्त भएर काम गरेका थिए ।

Logo