सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छ : माधव सापकोटा

सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छ : माधव सापकोटा

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – यो मेरो पहिलो संसदीय अनुभव हो । बाहिरबाट हेर्दा संसद्भित्र जे देखिन्छ संसदीय अभ्यासभित्र आउँदा हरेक विषयमा बाहिर देखेजस्तो नहुँदो रहेछ । बाहिरबाट हेर्दा सदनभित्र एकअर्कासँग झगडा गरेजस्तो देखिए पनि दल र सांसदबीच हार्दिकता र सौहार्दपूर्ण सम्बन्ध हुने रहेछ ।

मेरो अनुभवमा संसद्मा समय र विषयको व्यवस्थापनमा निकै मेहनत गर्नुपर्दछ । थोरै समयमा धेरै कुरा प्रभावकारी र सशक्त ढङ्गले राख्नुपर्ने हुन्छ । अनुसन्धान तथा तथ्याङ्कको आधारमा संसद्भित्र बोल्दा आफ्नो समय बचाउन सकिन्छ । आफूले राखेको विषयवस्तुमा आकर्षण र रुचिकर पनि हुनुपर्छ । कहीँ न कहीँ एउटा विचारसँग हामी बाँधिएका छौँ । त्यो विचार–दर्शनमा रहेर आफ्ना तर्कहरु प्रस्तुत गर्नुपर्ने सांसदलाई बाध्यता हुन्छ ।

मनमा लागेका कतिपय कुराहरु निर्धक्कसँग भन्न केही बन्धनहरु पनि हुन्छन् । सुरुका चरणहरुमा प्रतिनिधिसभाको बैठकभित्र छिरेपछि मलाई आफ्नो प्रस्तुति नै प्रभावकारी होला कि नहोला भनेर दबाब हुन्थ्यो । पछि विस्तारै अभ्यस्त हुँदै गएपछि सहज अनुभव हुँदै गएको छ ।

संसद्मा भूमिका निर्वाह गर्ने क्रममा केही चुनौती पनि सामना गर्नुपर्ने हुन्छ । म उमेरको हिसाबले युवा पनि भएँ । अनि उपस्थितिको हिसाबले पनि यो मेरो संसद्मा पहिलो पटकको अनुभूति हो । संसदीय अभ्यासभित्र पञ्चायतकालदेखि सांसद हुनुभएका पनि त्यहीँभित्र हुनुहुन्छ । सुरुका चरणमा नयाँ सांसदलाई गरिने सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक हुने रहेछ ।

अहिले संसद्मा आफ्नो प्रस्तुति प्रभावकारी रुपमा राख्न थालेपछि सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक पाएँ । संसद्मा सक्रिय र प्रभावकारी रुपमा उपस्थिति हुँदा मात्रै समग्र सम्बन्धहरुको विस्तार हुँदै जाने रहेछ । सांसदको भूमिका प्रभावकारी हुन सकेन भने हामी आफैँ गुमनाम हुने रहेछौँ । तसर्थ संसदीय अभ्यासमा छिर्दा अवसर र चुनौती दुवै छन् ।

मैले यो ठाउँसम्म आइपुग्दा राजनीतिमा धेरै सङ्घर्ष गर्नुप¥यो । बाल्यकालदेखि म राजनीतिमा होमिएँ । २०५० साल तिरको कुरा हो । मलाई त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट अखिल क्रान्तिकारीको विद्यार्थी सङ्गठनमा बसेर काम गर्न मन भयो । सङ्गठनमा बस्न खोज्दा अहिले नै उमेर पुगेको छैन भनेर विद्यार्थी सङ्गठनमा बस्न दिइएको थिएन । त्यसपछि म आफैँले आफ्नो उमेर समूह मिल्नेसँग बालसमूह बनाएको थिएँ । त्यसको एक वर्षपछि बाल सङ्गठनको व्यवस्था गर्ने भनेर निर्णय भयो । पछि मलाई उमेर पुगेपछि विद्यार्थी सङ्गठनमा लिइयो ।

माओवादीको सशस्त्र युद्ध सुरु हुनुअघि म पढ्ने विद्यालयमा झडप भएर एक जना प्रहरीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ प्रहरी प्रशासनबाट ठूलो दमन भयो । त्यतिबेला मलाई नेपाल प्रहरीले गिरफ्तार पनि गरेको थियो । सात दिनसम्म उँधोमुन्टो लगाएर बेस्सरी यातना दिइयो । प्रहरी देखेपछि यसैगरी पिट्छ भनेर डर लाग्थ्यो । मलाई प्रहरीले यातना दिन्छ कि भन्ने मात्रै त्रास हुन्थ्यो । २०५५ सालमा फेरि मलाई पक्राउ गर्न आएपछि म भागेको थिएँ । यसपछि स्वतः पार्टीमा भूमिगत भएर सक्रियरुपमा लागेको थिए । सिद्धान्त बुझेरभन्दा पनि मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिको भएर राजनीतिमा लागेको थिएँ । त्यसबेला हाम्रो गाउँमा माहोल नै त्यस्तै थियो ।

युद्धमा लाग्दा म दुई पटक गम्भीर प्रकृतिको घाइते नै भएको थिएँ । देब्रे कोखा र दाहिने खुट्टामा गोली लागेको थियो । झन्डै १० ठाउँमा लागेका गोलीका छर्राहरु अहिले पनि छन् । सानै उमेरमा भूमिगत आन्दोलनमा लागियो । पछि विस्तारै विचार र राजनीति बुझ्दै गइयो । मैले एसएलसीसम्म पनि पढेको थिइन । शान्ति प्रक्रियामा आएपछि मैले आफ्नो औपचारिक अध्ययनलाई जोड दिएँ । त्यसपछि मात्रै एसएलसी दिएको हुँ ।

संसदीय अभ्यासमा छिरेपछि मात्रै मैले स्नातकोत्तर तहको अध्ययन पूरा गरेँ । सँगसँगै अनुसन्धानको क्षेत्रलाई पनि अगाडि बढाएँ । अहिले पनि मलाई विभिन्न विषयमा लेखिएका पुस्तकहरु पढ्न मनपर्छ । आजको दिनसम्म पूर्णकालीन राजनीतिबाट विश्राम लिएको छैन ।

कतिपय युवाले संसदीय अभ्यासमा छिर्नका लागि धेरै मिहेनत गर्नुपथ्र्यो । तर मेरो क्षेत्रमा भने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जो नाताले मेरो काका पनि हुनुहुन्छ, उहाँले नै नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ भनेर टिकट हस्तान्तरण गर्नुभएको हो । म आफैँ सङ्घर्ष गरेर राजनीतिक कार्यकर्ताको रुपमा विकसित भएकै थिएँ । उहाँको पारिवारिक सदस्य भएकै कारण सांसदको टिकट पाएको भने होइन । राजनीतिमा मेरो पनि योगदान छ । तर उहाँको व्यक्तित्वले मलाई सहज गरायो ।

संसदीय अभ्यासमा सुशासनका कुरा पनि छलफलका विषय बन्ने गरेको छ । सुशासन भन्नेबित्तिकै आर्थिक पारदर्शिताका कुराहरु स्वतः उठ्छन् । हामी जिम्मेवार हुने, व्यवस्था बदलेसँगै हामीले आफ्नो संस्कार बदल्ने, हाम्रा कार्यशैली बदल्ने कुराहरु संसदीय अभ्यासभित्र अपुग छन् भन्ने मलाई लाग्छ । मानिसको आदत भनेको त मानिसको आफ्नो निजी सत्ता हो । निजी सत्ता हत्तपत्त बदल्न गाह्रो हुन्छ । यसले एक हिसाबले पुस्तान्तरणको माग गर्दछ । त्यसैले हामीकहाँ सुसंस्कृत हुने, सुशासनलाई जोड दिने, समानतामुलक हुने, संस्कारयुक्त हुनेजस्ता कुराहरु समकालीन राजनीति र संसदीय अभ्यासभित्र कमै देखिन्छ । पछिल्लो चरणमा संसद्मा विधायिकीको काम भन्दा पनि राजनीति बढी हाबी भयो भन्ने मलाई लाग्छ । यो पक्षमा संसद्मा अझै घनीभूत बहस पैरवी गर्नुपर्ने खाँचो छ । यस्तो छलफल र संवाद कसैको छवीमाथि हमलाका लागि र हिलो छ्याप्ने गरी प्रयोग गर्नुभन्दा राम्रो संस्कार स्थापनामा केन्द्रित हुनुपर्दछ ।

सांसद माधव सापकोटाको परिचय

माधव सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवानेता हुनुहन्छ । उहाँ २०७९ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । निर्वाचनमा उनले तीस हजार चार सय आठ मत प्राप्त गरी विजयी भएका थिए । उनी २०५६ सालमा माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष र २०५६ सालमा जिल्ला समिति अध्यक्ष तथा २०५७ साल पूर्वी पहाड क्षेत्रीय समन्वय समितिका संयोजक हुन् ।

Logo