काठमाडौं, – बाजुराको दुर्गम उत्तरी क्षेत्र विच्छ्यामा टेलिफोन सेवा अवरुद्ध भएको छ । विच्छ्यामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
हिमाली गाउँपालिका १ काे कोटडाँडामा रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन सेवा अवरुद्ध भएको युना माविका शिक्षक बलि सुनारले जानकारी दिए । सेवा अवरुद्ध भएपछि आफन्तसँग कुराकानी गर्न अग्लो डाँडामा जानुपरेको उनले बताए ।
आफैमा विकट र भौगोलिक रुपमा पिछडिएको विच्छ्या टेलिफोन सेवा अवरुद्ध भएपछि सम्पर्कविहिन झै भएको छ । सो टावरले हिमाली गाउँपालिका – १, २, ३ र ५ का स्थानीयलाई सेवा दिदै आएको थियो । टेलिफोन सेवा अबरुद्ध हुँदा सिँगो नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् ।
टेलिफोन सेवा अवरुद्ध भएको एक साता भइसक्दा पनि सरोकारवाला निकाय र पालिकाले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको तीनका वडाध्यक्ष मंगल बुढाले गुनासो गरे ।
टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको वडाध्याक्ष बुढाले बताए । अवरुद्ध टेलिफोन सेवा कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उनले बताए ।
प्रतिक्रिया