परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

काठमाडौं एक्सप्रेस

चितवन, – चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ ।

चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार कालिका नगरपालिका–९, १० र ११ मासैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ, रन्तेस, छेरवाङ, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालु खेती गरिने छ । साथै कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङ पनि लगाइने छ । कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा रु ३० लाख बराबरको सहयोग परिचालन गरिने छ । कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ ।

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए । उनले भने, “हामी परम्परागत बाली लगाएर बजारीकरणमा सहयोग गर्छाैँ ।”

प्रभावकारिताका आधारमा रकम थप गरिने उनले बताए । दुई सयभन्दा बढी परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Logo