गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

काठमाडौं एक्सप्रेस

कञ्चनपुर, – पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हँुदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हँुदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ । “नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ”, कार्यालय प्रमुख भट्टले भने, “गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।”

“नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन”, उनले भने, “नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।” यसैकारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ ।

सीमानाका हँुदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ”, कार्यालय प्रमुख भट्टले भने, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए ।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार पाँच सय २७ डलर राजस्ववापत सङ्कलन गरेको छ । अध्यागमन कार्यालयको तथ्याङ्कानुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँच सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

Logo