देउवाले पार्टी पदाधिकारीहरुलाई जानकारी गराए एमालेसँग भएको समझदारीबारे

देउवाले पार्टी पदाधिकारीहरुलाई जानकारी गराए एमालेसँग भएको समझदारीबारे

काठमाडौं एक्सप्रेस

काठमाडौं , – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन् ।

आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन् ।

नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन । यद्यपि गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको जानकारी गराए । उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने बताए ।

अहिलेसम्मको समीक्षाबाट र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने कांग्रेस प्रवक्ता महतले बताए ।

एमालेसँगको समझदारीलाई अनुमोदन गर्न बुधबार बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको प्रवक्ता महतले जानकारी दिए ।

Logo