काठमाडौं- सत्तासाझेदार नेकपा एमाले सरकारबाट फिर्ता भएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले बुधबार साँझ राजीनामा दिएका छन् । राजीनामा बुझाउन मन्त्रीहरू बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
सामूहिक बालुवाटार पुगेका एमालेका मन्त्रीहरूले आफ्नो राजीनामा भने एक्लाएक्लै बुझाए ।
असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि एमाले मन्त्रीहरू सरकार बाहिर निस्किएका हुन् ।
राजीनामा बुझाउँदा मन्त्रीहरूको अनुहार हेर्नलायक थियो । कतिपय मन्त्रीहरू गम्भीर देखिन्थे भने कतिपय रोमान्चित पनि ।
प्रधानमन्त्रीको मुड भने गम्भीर नै थियो ।
२०७९ साल मंसिरमा भएको आम निर्वाचनमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भए पनि तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री भएका थिए ।
राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेर एमालेलाई सरकार बाहिर पठाएका दाहालले २०८० फागुनमा एमालेलाई सरकारमा भित्र्याउँदै कांग्रेसलाई सत्ताच्युत गरेका थिए ।
दाहाल सरकारमा एमालेका ८ मन्त्री थिए ।
प्रतिक्रिया