काठमाडौँ, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।
बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो ।
“केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्ेकाल े उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भनिन् “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । बैठकमा उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाएका थिए ।
बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्नुभएको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताए ।
आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी थिए ।
उक्त बैठकमा डा ढकालमाथि कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटालाई समेत बैठकमा आमन्त्रित गरिएको थियो । डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिक्रिया