काठमाडौं, – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले भावी सरकारमा नजाने बताएका हुन् ।
सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै छन् ।
दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको उनले सुनाए । ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले अगुवा कार्यकर्ता भेलामा भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’
१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो । दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।
शर्माले अर्का महामन्त्री गगन थापाको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुने बताए ।
प्रतिक्रिया