रुपन्देही, – संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ ।
लुम्बिनी प्रदेशमा नेकपा एमालेसहित ५ दलका ४८ सांसदहरुको समर्थनमा चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई अब उनकै पार्टीका १० र नेकपा एसका १ सांसद मात्रै अब उनको पक्षमा रहेका छन् ।
असार २० गते नै २९ सांसदसहित प्रदेशमा ठूलो दल रहेको प्रमुख सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा पूर्ण अल्पमतमा परेका छन्।
त्यसअघि असार ९ गते नै जसपा नेपालमा सांसद अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ समीकरणले प्रदेश सरकार ढल्ने भएपछि मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।
महरालाई साथ दिएका एमालेका २९ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिइसकेका छन् भने ४ सांसद रहेको नागरिक उन्मुक्तिले केन्द्रमा पनि माओवादीलाई विश्वासको मत दिएको छैन । महरालाई साथ दिएको ५ दलमध्ये १ सांसदसहित मन्त्री बनेकी नेकपा एसकी भगवती घिमिरे मात्रै पक्षमा रहेकी छ । लुम्बिनीमा ८७ सदस्य प्रदेश सभा रहेको छ ।
बहुमत पु¥याउनका लागि ४४ सीट चाहिन्छ। केन्द्रमा भएको दलीय समीकरण अनुसार एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसदको सहज बहुमत पुग्छ। अन्य साना दलहरु पनि सत्ता साझेदारको लागि तयारी रहेका छन् । जसपा, लोसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति नयाँ गठबन्धनमा साथ दिन केन्द्रबाट नै तयारी रहेको छ ।
प्रतिक्रिया