आज चारवटा संसदीय समितिको बैठक बस्दै

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्न लागेको छ ।

बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको छ । आजको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ ।

त्यस्तै बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ । जसमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरी÷निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल हुनेछ ।

सोही समयमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ। बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल कार्यसूची रहेको छ।

त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग सङ्कल्प प्रस्ताव सम्बन्धमा छलफल हुनेछ।

Logo