काठमाडौँ, – पुरातत्व विभागले स्थानीय तहको समन्वय अभावमा पुरातात्विक महत्वका स्थानको संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले कतिपय स्थानीय तहका जनप्रतिनिधि सम्पदा संरक्षणप्रति पूर्ण रुपमा सजग नहुँदा संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उल्लेख गरे ।
“पर्यटन प्रवर्द्धन र विकास निर्माणका नाममा विभागको सहमति बिना नै काम गर्दा समस्या देखिएको छ”, उनले भने, “हामी संरक्षणबारे सोच्छौँ, स्थानीय तह विकास निर्माणमा मात्र केन्द्रित हुँदा समस्या भएको छ ।”
विश्व सम्पदास्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने गरी भएको तयारी तत्कालका लागि टरेको स्मरण गराउँदै उनले सम्पदा संरक्षणप्रति मुख्यत स्थानीय तह सचेत र सजग हुनुपर्ने राय व्यक्त गरे ।
“गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अनावश्यक संरचना थप्ने कार्य भएपछि युनेस्कोले संरक्षणभन्दा बिगार्ने गतिविधि देखेर खतराको सूचीको रिपोर्ट तयार पारेको थियो । अन्य स्थानीय तहमा पनि सम्पदालाई संरक्षण गर्ने भन्दा पनि आधुनिक पार्कका रुपमा निर्माण गर्ने काम भइरहेको देखिन्छ”, उनले भने, ।
उनले भने, विश्व सम्पदामा सूचीकृत सम्पदामा संरक्षण, व्यवस्थापनका लागि स्थापना भएका विकास कोष र विकास समितिमा विभागको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने मागसमेत गरे । सरकारले प्राचीन स्मारकको संरक्षण र व्यवस्थापन गरेर स्थानीय तहलाई हस्तान्तरण गर्दै आएको छ ।
महानिर्देशक प्रधानाङ्गले पुरातात्विक क्षेत्रमा गरिने कुनै पनि निर्माण अघि सहमति लिनुपर्ने व्यवस्थालाई कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनका विभागसँग बजेट अभाव, सङ्घीयस्तरका कार्यालय नहुनु, परम्परागत निर्माण सामग्रीको अभाब र समय सापेक्ष ऐन संशोधन नभएको विषयप्रति समितिको ध्यानार्कषण गराए ।
त्यस अवसरमा समितिका सदस्यले काठमाडौँ उपत्यकासँगै देशभरका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण तथा उत्खननमा उत्तिकै महत्व दिन विभागलाई सुझाव दिए । उनीहरुले सातै प्रदेशका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको सूची उपलब्ध गराउनसमेत विभागसँग माग गरे ।
विभागका प्रवक्ता रामबहादुर कुँवरले २०७२ सालको भूकम्पछिको पुनःनिर्माण प्रगतिबारे समेत समितिलाई जानकारी दिए । भूकम्पले क्षति पु¥याएका विश्व सम्पदा क्षेत्रमा पर्ने एक सय ७० सम्पदामध्ये एक सय ५४ वटाको पुनःनिर्माण सम्पन्न भएको र विश्व सम्पदा क्षेत्रबाहेकका सात सय ५० सम्पदामध्ये छ सय ४८ वटाको पुनःनिर्माण सम्पन्न भएको उहाँले तथ्याङ्क प्रस्तुत गरे ।
विभागका अनुसार अहिलेसम्म विभिन्न नौ सय २० सम्पदामध्ये आठ सय दुई वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । यस्तै दुई सय १५ गुम्बामध्ये १३ वटाको काम सकिएको छ ।
प्रतिक्रिया