काठमाडौं, – नेपाली कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् । बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएको थियो ।
प्रदेश सभापतिहरू उद्धव थापा, कृष्ण यादव, इन्द्र बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले संघीयता अनुसार प्रदेश कार्यसमितिको भावना पार्टीले बुझ्न नसकेको गुनासो गरेका छन् ।
पार्टी संरचनामा प्रदेश समितिलाई भूमिकाविहीन बनाइएको उनीहरूको चिन्ता थियो । १५ भदौदेखि प्रस्तावित १०० दिने सांगठनिक अभियानको प्रदेश संयोजन गर्न पनि सहमहामन्त्रीहरूलाई दिने भए आफ्नो भूमिका कहाँ हुने भन्दै उनीहरूले चासो राखे । प्रदेशमा मन्त्री बनाउँदा सम्बन्धित समितिलाई बेवास्ता गरिएको उनीहरूले बताएका छन् ।
‘संघ नीति बनाउने, प्रदेश विकास गर्ने संरचना हो । स्थानीय तह कार्यान्वयन गर्ने संरचना हो । यसअनुसार कांग्रेसले बुझ्न सकेन,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी बैठकमा भने । प्रदेश सभापतिहरूले प्रदेश समितिलाई बोधार्थ कार्यालयका रुपमा मात्रै पार्टीले प्रयोग गरेको बताएका छन् ।
प्रतिक्रिया