महोत्तरी, – सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिवास–२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञबाट आज चौथो दिनसम्म दाताहरूबाट रु ३५ लाख नगद प्राप्त भएको छ ।
गत सोमबार प्रारम्भ भएको महायज्ञबाट आज चौथो दिनसम्म यो परिमाणको रकम प्राप्त भएको शिवपुराण महायज्ञ मूल आयोजक समितिको आर्थिक उपसमितिले जनाएको हो । प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको विद्वत टोलीले महायज्ञका कर्मकाण्ड, पाठ पारायण र कथावाचन गर्दै आएको छ ।
महायज्ञमा कथा श्रवण गर्न आउनुभएका भक्तहरूबाट हालसम्म ३५ लाख नगद प्राप्त भएको शिवपुराण माहायज्ञ मूल आयोजक समितिको अर्थ उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराइले जानकारी दिए ।
महायज्ञस्थल मै बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षत्री र उहाँकी धर्मपत्नी मञ्जु क्षत्रीले आफ्ना स्व बाजे दानबहादुर क्षत्रीको स्मृतिमा ‘हाम्रो माया घर’ को भवन निर्माणमा दुई कोठामा लाग्ने खर्चवापत १५ लाख नगद दिनुभएको भट्टराईले बताए । महायज्ञमा दैनिक दुई हजारमाथि सङ्ख्याका श्रद्धालु भक्त कथा श्रवणमा सहभागी हुँदै आएका छन् ।
‘हाम्रो माया घर’ बर्दिवास–२ मा रु १० करोड ६९ लाख ४५ हजार चार सय ७७ को लागतमा निर्माण हुन लागेको हो । बर्दिवास–२ दाताबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा ‘हाम्रो माया घर’ निर्माण गरिने तयारी बढेको छ ।
प्राप्त जग्गामा चारैतिरबाट पक्की पर्खालको घेराबेरा भइसकेको छ भने यहाँ बन्ने दुई वटा भवनको विस्तृत परियोजना प्रस्ताव पनि तयार भएको हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया