विराटनगर, – कोशी प्रदेशसभा बैठक डेढ महिनादेखि अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।
१ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण परिवर्तन भएका कारण प्रदेशसभा बैठक अनिश्चित भएको हो ।
केन्द्रमा समीकरण फेरिएसँगै बजेट बनाउँदा सरकारमा रहेको माओवादी केन्द्र अहिले सरकार बाहिर छ । तर समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले प्रदेशसभा बैठक सुरु भएपछि सरकारको समर्थनबारे निर्णय गर्ने बताएको छ ।
सरकारले प्रदेशसभा बैठक बोलाउन रुचि नदेखाएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको आरोप छ । सरकारले गैरजिम्मेवार ढंगले काम गरेको बताउँदै उनले बैठक अघि नै समर्थन फिर्ता लिने तयारी भइरहेको उनले बताए ।
‘केन्द्रीय समीकरण अनुसार प्रदेशमा यहाँहरुको(कांग्रेस एमाले) भागबन्डा र नयाँ मन्त्रीमन्डल गठनको बिषयमा हाम्रो कुनै चासो छैन । तर उहाँहरुको असक्षमताले बाढी,पहिरो,डुबान लगायत प्राकृतिक विपत्ति,नीति कार्यक्रम र नयाँ बजेट कार्यवन्यनलगायत बिषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेशसभा बन्धक भएको लामो समय भयो,’ उनले भने, ‘बिना कुनै बहाना तत्काल प्रदेशसभा सुचारु गर्न मुख्यमन्त्री र सभामुखज्युको गम्भीर ध्यानाकर्षण गराउछु ।’
सभामुखले पनि प्रदेशसभा बैठक चलाउन आट नगरेको बताउँदै उनले संसद सरकारको छायाँमा परेको बताए । ‘कांग्रेस भित्रको गुट व्यवस्थापनका लागि मन्त्रालय बढाउनै पर्ने दबाबमा मुख्यमन्त्री हुनुहुन्छ,त्यसको विरोध हुने भएकाले सबै काम सकेर अनुकुलतामा मात्रै सदन चलाउने तयारीमा उहाँहरु हुनुहुन्छ,’ आङ्बोले भने, ‘सरकारको छायाँमा सदन प¥यो । सभामुख निरिहजस्तो देखिनु भएको छ ।’
प्रतिक्रिया