एउटै कोठामा खुम्चियो सिङ्गो कार्यालय

एउटै कोठामा खुम्चियो सिङ्गो कार्यालय

काठमाडौं एक्सप्रेस

सर्लाही, – जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।

जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो । पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो । “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ”, उनले भने, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षातमा पानी सबैभित्र पस्छ ।”

भवन निर्माणका यस कार्यालयले चार वर्ष पहिले रु पाँच लाखमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ । डिपिआर स्वीकृत भएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट रु तीन करोड ८५ लाख फ्रिज भइसकेको छ ।

कार्यालय भवन निर्माणका लागि आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु दुई करोड र आव २०७९/’८० मा रु एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ । “हामी पटक–पटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौँ”, उनले भने, “डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौँ । तर काम भएको छैन ।” कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उनले बताए । कार्यालयमा नौ जना प्राविधिकसहित १५ जनाको दरबन्दी भए पनि हाल प्रमुखसहित तीन जना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सात जना कर्मचारी छन् ।

गत आर्थिक वर्ष कृषि सिँचाइका लागि विनियोजित रु चार करोड १० लाख बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताए । कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उनको भनाइ छ ।

Logo