आफ्नो नामको फेसबुक पेज बन्द गराउ सुनिताले दिईन् साइबर ब्यूरोमा पत्र

आफ्नो नामको फेसबुक पेज बन्द गराउ सुनिताले दिईन् साइबर ब्यूरोमा पत्र

काठमाडौं एक्सप्रेस

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेकी छन् ।

यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलको सचिवालयले ब्यूरोलाई पुनः पत्र लेखेको हो ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमले साइबर ब्यूरोमा पठाएको पत्रमा भनिएको छ ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजबाट महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने काम गरिरहेको भन्दै ती पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।

‘अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने जस्ता कार्यहरु बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरु प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरु भइरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी–बहिनीहरुले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ ।’

Logo